ad ad

विचार


निगमले जहाज किन थप्ने?

निगमले जहाज किन थप्ने?

टीकाराम राई
असोज २१, २०८० आइतबार २२:१२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती अहिले नेपाल वायु सेवा निगमको लागि जहाज खरिद गर्न लागिपरेका छन्। निगमको संरचनागत तथा व्यवस्थापकीय अध्ययन एवं सिफारिस समितिले पनि निगमले आवश्यक मात्रामा साना विमानस्थल, क्षेत्रीय विमानस्थल र अन्तर्राष्ट्रिय रुटमा उड्ने जहाज थप्नुपर्ने सिफारिस गरेको छ। निगमलाई थप जहाजहरु किन आवश्यक पर्छ? यो प्रश्नको उत्तरमा केन्द्रित भई यहाँ छलफल गरिएको छ।

सबैभन्दा पहिला निगम स्थापना किन गर्नुपर्यो भन्नेबाट छलफल आरम्भ गरौँ। नेपाल वायु सेवा निगम ऐन, २०१९ द्वारा सञ्चालित स्वायत्त संस्था हो, निगम। यसमा नेपाल सरकारको पूर्ण स्वामित्व छ। निगम ऐनले मुख्य चार उदेश्य पूरा गर्न निगमलाई निर्देश गरेको छ– सुरक्षित, भरपर्दो र सर्वसुलभ हवाई सेवा प्रदान गर्न, सामाजिक उत्तरदायित्व बहन गर्न र हवाई सेवासँग सम्बन्धित व्यापार गर्न। अर्थात् हवाई सेवामा जनताको पहुँच वृद्धि, बजार हस्तक्षेप र सामाजिक उत्तरदायित्व बहन गर्दै नाफा आर्जन गर्ने उदेश्यका लागि निगमको स्थापना भएको हो। 

निगमको स्थापना वि.सं. २०१५ असार १७ गते भयो। २८ सिट भएको डकोटा जहाजबाट निगमको यात्रा आरम्भ भयो। निगमले सुरुवाती दिनमा सिमरा, जनकपुर, राजविराज, दाङ, पोखरा, भैरहवा र विराटनगरमा हवाई सेवा सञ्चालन गर्थ्यो। निगमको अन्तर्राष्ट्रिय उडान सेवा भने वि.सं. २०२३ मा ४४ सिट भएको टर्बोप्रप जहाजबाट सुरु भयो। त्यसबेला भारतको नयाँ दिल्ली, पटना र कलकत्तामा निगमको जहाजले उडान भर्थ्यो। 

वि.सं. २०५० सालतिर निगमसँग आन्तरिक उडानमा प्रयोग हुने १२ वटा ट्विन अटर, ३ वटा एभ्रो र १ वटा पिलाटस पोर्टर जहाज थियो। ती जहाजहरुबाट ३९ आन्तरिक गन्तव्यमा उडान सञ्चालन हुन्थ्यो। अन्तर्राष्ट्रिय उडानका लागि चार वटा बोइङ जहाज थियो। ती बोइङ जहाजद्वारा निगमले ९ वटा देशका १३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गर्थ्यो। यसकारण, निगमले त्यसबेला ऐनद्वारा निर्दिष्ट उदेश्य लगभग पूरा गरेको थियो। 

अब हालको जहाज र उडान स्थितिबारे चर्चा गरौँ। ट्विन अटर जहाज स्टोल अर्थात स–साना विमानस्थलमा बस्न र उड्न सक्ने जहाज हो। नेपालमा यो जहाज वि.सं. २०२७ सालमा पहिलो पटक भित्रिएको हो। १२ वटा ती जहाजमध्ये हाल तीन वटा मात्र बाँकी छन्। तीनमध्ये एउटा वि.सं. २०६९ सालदेखि ग्राउन्डेड (भूमिस्थ) छ। बाँकी दुई वटामध्ये नियमित उडानमा एउटा मात्र छ। वि.सं. २०६९ सालदेखि ग्राउन्डेड जहाजबारे मन्त्री किरातीले चासो व्यक्त गरेपछि निगम हाल उक्त जहाज मर्मत गरी उडान सञ्चालन गर्ने तरखर गर्दैछ। 

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग हाल चार वटा एयर बस जहाज छन्। चार वटा एयर बस जहाजमध्ये १५८ सिट क्षमता भएको ए–३२० दुई वटा र ३२० सिट क्षमता भएको ए–३३० दुई वटा जहाज छन्। ए–३२० लाई न्यारोबडी र ए–३३० लाई वाइडबडी भनिन्छ। वि.सं. २०७२ मा न्यारोबडी जहाज भित्रियो भने वि.सं. २०७५ असार १४ गते पहिलो र २०७५ साउन १० गते दोस्रो वाइडबडी जहाज भित्रियो। यी चार वटा एयरबस जहाजमार्फत हाल निगमले विभिन्न ७ देशका ९ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेको छ। 

निगमको प्रतिस्पर्धी जहाज क्षमताबारे कुरा गरौँ। आन्तरिक उडानमा प्रयोग हुने जहाजको आधारमा निगमको प्रतिस्पर्धा कोहीसँग पनि छैन। हाल बुद्ध एयरसँग १६ वटा जहाज छन् भने यती एयरलाइन्ससँग ४ वटा। तर, निगमसँग दुई वटा जहाज मात्र छन्। ती दुई वटामध्ये एउटा मात्र नियमित सञ्चालनमा छ। निगमसँग एउटा पनि ट्रंक रुट (क्षेत्रीय विमानस्थल)मा उड्ने जहाज छैन। ट्रंक रुटमा निगमको शून्य उपस्थितिको कारण आन्तरिक उडान भाडादर महंगो भएको हुनुपर्छ। यसरी, स्टोल र ट्रंक रुटका जहाजको अभावमा हवाई सेवामा आम जनताको पहुँच स्थापित र बजार हस्तक्षेप गर्न निगम असफल छ। स्टोल रुटका जहाजबाट हवाई यातायातमा आम जनताको पहुँच वृद्धि हुन्छ भने ट्रंक रुटका जहाजबाट बजार स्थापित हुन्छ। 

अन्तर्राष्ट्रिय उडानमा निगमको हिमालय एयरसँग मात्र प्रतिस्पर्धा छ। भारतको इन्डिगो, कतार एयर र चीनको चाइना साउदर्नसँग निगमको कुनै प्रतिस्पर्धा छैन। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाज निगम र हिमालय एयर दुवैसँग चार–चार वटा छन्। भारतको इन्डिगोसँग एक सय ७२ वटा जहाज छन्। हालै मात्र इन्डिगोले थप पाँच सय वटा जहाज खरिद गर्ने घोषणा गरेको छ। 

हवाई बजारमा प्रतिस्पर्धाको स्थितिको चर्चा गर्नुपर्दा सन् २०२१ मा कुल ४१ लाख ४ हजार ४७६ यात्रुहरुले आन्तरिक उडानबाट यात्रा गरे। त्यसमध्ये १७ हजार ४१७ (०.३८ प्रतिशत) जनाले मात्र निगमको आन्तरिक उडानबाट यात्रा गरे। बुद्ध एयरको विमानबाट १९ लाख ३५ हजार (४६.६५ प्रतिशत) जनाले उडान गरे। त्यस वर्ष निगमले करिब १२ करोड रुपैयाँ बराबर आन्तरिक हवाई बजारबाट आर्जन गरेको छ। तर बुद्ध एयरले ९ अर्ब रुपैयाँ बराबर आर्जन गरेको छ। एक अध्ययनअनुसार नेपालको आन्तरिक हवाई उडानमा करिब २० अर्ब रुपैयाँ बराबरको बजार सम्भावना छ। यस्तो सम्भावना भएको बजारमा जहाज अभावले गर्दा वार्षिक करिब ५ करोड रुपैयाँ नोक्सानीमा निगमको आन्तरिक उडान छ। 

सन् २०२१ को तथ्यांकअनुसार नेपालबाट जम्मा करिब ११ हजार ७ सय अन्तर्राष्ट्रिय उडान सञ्चालन भयो। त्यसबाट १४ लाख ५१ हजार यात्रुले यात्रा गरे। जसमध्ये निगमको जहाजबाट २ लाख ८६ हजार (१९.७४) प्रतिशतले यात्रा गरे। कतार एयरको जहाजबाट ३ लाख ५ हजार र हिमालय एयरको जहाजबाट २ लाख ५६ हजार (१७.७१) प्रतिशत यात्रुले यात्रा गरे। निगमसँग दुई वटा वाइडबडी जहाज छन्। तर, हिमालयसँग सबै न्यारोबडी जहाज भएकाले हिमालयभन्दा निगमको यात्रु संख्या बढी भएको हो। जहाज अभावमा निगमको अन्तर्राष्ट्रिय उडान पनि कमजोर अवस्थामा छ। 

अब निगमको आर्थिक स्थितिबारे पनि छलफल गरौँ। आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा ४ अर्ब ९० करोड रुपैयाँले निगमको पुँजी ऋणात्मक भएको छ। विभिन्न काण्डले थलिएको निगमको सञ्चित कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। निगमले करिब १० प्रतिशतका दरले ऋणको ब्याज भुक्तानी गर्नुपर्छ। तथापि सञ्चालन कारोबारमा भने नाफा नै छ। आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन नाफा करिब १ अर्ब ५५ करोड भएको छ। सञ्चित ऋणको ब्याज, ह्रास कट्टी, जरिवाना, चर्को बिमा लगायतका कारण खुद नोक्सानी भएको हो। आर्थिक वर्ष २०७९/८० मा मात्र पर्यटनमन्त्री किरातीको पहलमा निगमले करिब ४ अर्ब किस्ता बुझाएको छ। यसबाट स्पष्ट हुन्छ, निगमको वर्तमान कार्यसम्पादन निराशाजनक छैन। तर निगम पुँजी अभाव, चर्को ब्याज र जहाजको अभावबाट गुज्रिरहेको छ। 

निगमको वर्तमान स्थिति सुधार गर्न सरकारले पुँजी र जहाजहरु थप्नुपर्ने हुन्छ। आर्थिक विश्लेषणबाट स्पष्ट हुन्छ, निगमले वार्षिक ५ अर्बका दरले नाफा आर्जन गर्दा पनि निगमसँग ४० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सञ्चालन गर्ने अधिकार (अनुमतिपत्र) छ। तर जहाज अभावले गर्दा ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्र निगमले हवाई उडान गरिरहेको छ। ३१ गन्तव्य खेर गइरहेको छ। यसका अतिरिक्त पर्याप्त अन्तर्राष्ट्रिय रुटका जहाज नहुँदा विश्वसनीयतामा समेत क्षति पुगेको छ। जहाज प्राविधिक कारणले ग्राउन्डेड भयो भने निर्धारित तालिका प्रभावित हुन्छ। त्यसैले प्रभावित गन्तव्यमा वैकल्पिक व्यवस्था गर्न जगेडा जहाज आवश्यक पर्छ। जहाजको अभावमा निगम वैकल्पिक जहाजको व्यवस्था गर्न सक्ने अवस्थामा छैन। यसले गर्दा निगमको विश्वसनीयता धरापमा परेको छ। 

निगम ऋणबाट मुक्त हुन अझै १० वर्ष लाग्नेछ। प्रतिस्पर्धी बजारमा निगमको उपस्थिति दह्रो बनाउन नेपाल सरकारले वाणिज्य बैंकहरुको पुँजी थपेजस्तै निगमको पनि पुँजी थप्नुपर्छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक पुँजी अभावले कमजोर हुँदा सरकारले पुँजी थपेको र हाल खुद नाफा आर्जन गर्न सफल भएको दृष्टान्त छ। तर निगमले राष्ट्रलाई पुर्याएको योगदान र निगमको राष्ट्रप्रतिको भूमिकालाई नोकरशाहहरुले सकारात्मक रुपमा नलिँदा निगमलाई प्रतिस्पर्धी बजारमा उतार्न सकस भइरहेको छ। 

माथि उल्लिखित विवरणका आधारमा नेपालमा हवाई सेवाको बजार सम्भावना राम्रो छ। निगमका प्रतिस्पर्धी हवाई सेवा प्रदायक कम्पनीहरुको व्यापार वृद्धि भएबाट पनि यो प्रमाणित हुन्छ। तर बजारको मागअनुसार बजारमा सिट आपूर्ति गर्ने जहाज अभावले गर्दा निगम असफल छ। जहाजको सिट संख्या वृद्धि नहुँदासम्म निगमको व्यापार वृद्धि हुन सक्दैन। निगमले बिक्री गर्ने भनेको जहाज सिट हो। जहाजको संख्या वृद्धि हुँदा मात्र जहाज सिट वृद्धि भई व्यापार पनि बढ्नेछ। त्यसैले निगमले आफ्नो कमजोर स्थितिमा सुधार गर्न स्टोल, ट्रंक रुट र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाज थप्नुपर्ने कार्य योजना बनाएको छ। निगमले स्टोल रुटका लागि तीन वटा ट्विनअटर, दुई वटा ट्रंक रुटको जहाज र तीन वटा अन्तर्राष्ट्रिय रुटमा उड्ने जहाज थप्ने १० वर्षे योजना बनाएको छ। 

(निगम सुधार श्रृंखलाको अर्को आलेखमा थप जहाजबाट निगमले गर्ने फाइदाको व्यापारबारे चर्चा गरिनेछ। टीकाराम राई निगम सुधार सिफारिस समितिका सदस्य हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .