डेढ महिनाको अन्तरालपछि देशका केही स्थानमा हिउँदे वर्षा त भयो तर त्यो पर्याप्त खालको नभएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार गत मंसिर १९ यता वर्षा भएको थिएन।
यही माघ १ गतेदेखि भने पश्चिमी वायुलगायत पानी पार्ने केही प्रणाली सक्रिय भएपछि देशका पहाडी/हिमाली क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ।
तर वर्षा एकदमै कम मात्रामा मात्र भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।
उनका अनुसार माघ १ गते यता गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा छिटपुटदेखि हल्कासम्म मात्र पानी परेको हो।
‘जमिन भिज्ने र राहत हुनेगरी कतै पानी पर्न सकेको छैन’, उनले बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘ओखलढुंगा, ताप्लेजुङ, सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, गोरखा, मनाङलगायत जिल्लाका एक/दुई स्थानमा हल्का वर्षा/हिमपात भएको छ।’
आगामी २/३ दिनसम्म पनि यस्तै छिटपुट/हल्का वर्षाको मात्र सम्भावना देखिएको उनले जानकारी दिए।
मौसम बदली, हल्का वर्षा तथा हिमपातले थोरै मात्रामा चिसो बढाउने काम भने गरिरहेको मौसमविद् लामिछानेको भनाइ छ।
‘त्यस्तो धेरै मात्रामा त चिसो बढाएको छैन’, उनले भने, ‘वर्षा/हिमपात भएका स्थानमा केही मात्रामा चिसो बढेको छ।’
Shares
प्रतिक्रिया