विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ।
सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत छ। उता कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।
नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चगुल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन्।
नयाँ वरीयताअनुसार नेपालले १७५ औँ स्थानमा यथावत छ। यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो।
वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ। १५५ औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ।
दक्षिण एसियामा नेपालपछि भुटान १८४ औँमा छ। उता बंगलादेश १८९ औँ स्थानमा छ। पाकिस्तान १९७ औँ स्थानमा रहँदा श्रीलंका २०२ औँमा छ।
Shares
प्रतिक्रिया