मलेसिया र सिगांपुरलाई हराउँदै नेपाल र ओमानले एक खेल अगावै आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल २०२३ को सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्।
नेपालले समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
ओमानले भने मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
समान दुई खेलमा जित निकालेपनि नेट रनरेटमा अघि रहँदै समूह ए मा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। नेपाल र ओमानबीचको खेलले समूह ए को विजेताको टुङ्गो लगाउने छ।
समान दुई खेलमा हार भोगेका मलेसिया र सिगांपुर भने समूह चरणबाटै बाहिरिएका छन्। समूह चरणको अन्तिम खेलमा मलेसिया र सिंगापुर भिड्नेछन्।
समुह ए बाट दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्दा समूह बी मा भने चारै टोलीका लागि सेमिफाइनल यात्रा खुल्ला छ।
समूह बी मा रहेका युएई, बहराइन, हङकङ र कुवेत चारै टोलीको नजर सेमिफाइनलमा छ।
समूह बी मा युएईले दुई खेलमा जित निकाल्दै चार अंकमा तालिकाको शीर्ष स्थानमा छ।
एक खेलमा जित र एक खेलमा हार भोगेको बहराइन र हङकङ तालिकाको दोस्रो स्थानमा छन्।
समान दुई खेलमा हार भोगेको कुवेत अंक तालिकाको पुछारमा छ।
बिहीबार बिहान युएई र हङकङ तथा कुवेत र बहराइन भिड्नेछन्। यी दुई खेलको नतिजापछि समूह बी को सेमिफाइनल समिकरण पुरा हुनेछ। समूह विजेताको टुङगो लाग्नेछ।
Shares
प्रतिक्रिया