युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ।
गएराति भएको समूह ‘जी’को खेलमा सिटीले १० खेलाडीमा सीमित योङ ब्वाइजलाई ३–० को फराकिलो अन्तरले हराएको हो।
सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरे।
खेलको २३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
योङ ब्वाइजका लाउपरले सिटीका म्याथियस नुनेसलाई पेनाल्टी एरियामा लडाएपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई हालान्डले खेर जान दिएनन्।
पहिलो हाफमा अन्तिम मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर पारे। खेलको ५१औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अवस्थामा ल्याए।
खेलको ५३औं मिनेटमा योङ ब्वाइज १० खेलाडीमा सीमित भयो। सान्ड्रो लाउपर दोहोरो पहेँलो कार्ड खादै मैदान छाडे।
गएराति नै भएको समूह‘जी’को अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडविरुद्ध २–१ को साँघुरो जित हासिल गरेको छ।
समूह‘जी’मा रहेको सिटी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट लाइपजिग ९ अंकसहति दोस्रो स्थानमा छ।
रेडस्टार १ अंकमा तेस्रो र योङ ब्वाइज १ अंकसहित पुछारमा छन्।
Shares
प्रतिक्रिया