केप टाउन टेस्ट म्याचको दोस्रो दिन बिहीबार दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै भारतले दुई खेलको टेस्ट सिरिज १/१ को बराबरी गरेको छ।
योसँगै टेस्ट क्रिकेटको नयाँ इतिहास रचिएको छ।कूल बलका हिसाबले क्रिकेट इतिहासमा यो सबैभन्दा छोटो टेस्ट म्याच हो।
९२ वर्ष पुरानो रेकर्ड तोड्दै केप टाउन टेस्ट केवल ६४२ बल (कूल १०७ ओभर) मा समाप्त भयो।
यसअघि सन् १९३२ मा मेलबर्नमा भएको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल ६५६ बलमा सकिएको थियो।
केप टाउनमा भारतको जितसँगै यो मैदानमा टेस्ट म्याच जित्ने पहिलो एसियाली देश बनेको छ।
यो जितसँगै भारतले दक्षिण अफ्रिकामा पाँचौंपटक आयोजक टोलीलाई हराएको छ।
भारतले पहिलोपटक सन् २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकालाई हराएको थियो।
त्यसपछि २०१० मा डर्बन, २०१८ मा जोहानेसबर्ग, २०२१ मा सेन्चुरियन र यसपटक केप टाउनमा आयोजक टोली पराजित भएका छन्।
Shares
प्रतिक्रिया