ad ad

ग्लोबल


प्रचार युद्ध युक्रेनले जित्यो, वास्तविक युद्धमा कति दिन टिक्ला?

प्रचार युद्ध युक्रेनले जित्यो, वास्तविक युद्धमा कति दिन टिक्ला?

टीओएस–१


नेपालखबर
फागुन १७, २०७८ मंगलबार २३:४, काठमाडौँ

क्रिमियाभन्दा पश्चिममा ३ सय किलोमिटर टाढा काला सागरमा छ– सानो स्नेक आइल्यान्ड। ४० हेक्टरको यो टापु युक्रेनको अधीनमा छ। गत बिहीबार रुसले युक्रेनमाथि आक्रमण सुरु गरेलगत्तै एउटा रुसी युद्धपोतले सो टापुमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिएको अडियो युक्रेनले सार्वजनिक गर्यो।

तर, त्यहाँ रहेका १३ सैनिकहरुले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि रुसी सेनाले बम प्रहार गरेर उनीहरु सबैलाई मारिदिएको युक्रेनले आरोप लगायो। मारिनेमा १३ सैनिक अलावा स्थानीय बासिन्दा पनि रहेको युक्रेनको भनाइ थियो।

‘हाम्रो सो टापुको अन्तिमसम्म प्रतिरक्षा गर्दागर्दै ती सैनिकहरुले वीरगति प्राप्त गरे,’ राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने। 

जेलेन्स्कीले ती सैनिकहरुलाई मृत्युपश्चात ‘हिरो अफ युक्रेन’ नामक पदवी पनि प्रदान गरे।

सो घटनालाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरे। ‘सोसल मिडिया इन्फ्लुएन्सर’का अकाउन्टबाट युक्रेनी सैनिकहरुले रुसी युद्धपोतलाई गरेको गालीको अडिओ संसारभर भाइरल भयो। त्यो देख्ने, सुन्ने सबैले युक्रेनी सैनिकको बहादुरीको प्रशंसा गरे भने रुसी क्रुरताको भर्त्सना।

तर, अहिले आएर सो टापुका सैनिकले रुससमक्ष आत्मसमर्पण गरेको खुलासा भएको छ। रुसी सेनाले सार्वजनिक गरेको भिडिओमा युक्रेनले आफूहरुलाई ‘जिउँदै मारेको’ भन्दै ती सैनिकहरुले बिलौना गरेको देखिन्छ।

यो घटना अहिले आएर झुट साबित भए पनि त्यसले विश्वभर युक्रेनप्रति सहानुभूति जगाउन र युक्रेनी वीरताप्रति सराहना बटुल्न ठूलो काम गर्यो। यति मात्र होइन, रुसी आक्रमण सुरु भएयता ‘गोस्ट अफ किभ’ नाम पाएका एक पाइलटले ६ वटा रुसी लडाकु विमान खसालिदिएको र ‘युक्रेनियन रिपर’ नाम दिइएका एक बहादुर सैनिक एक्लैले दुई दिनमा २० रुसी सैनिक मारिदिएको कथा पनि चर्चित भए। 

यस्ता कथाको लोकप्रियताबाट के थाहा हुन्छ भने प्रचार युद्धको मामिलामा यी ६ दिनमा युक्रेनले रुसलाई हराइदिएको छ। 

स्नेक आइल्यान्ड

जब अमेरिकाले राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव राख्यो, तब जेलेन्स्कीले जवाफ दिए– ‘मलाई सवारी होइन, गोलीगठ्ठा चाहिएको छ।’

जेलेन्स्कीको यो भनाइले थुप्रै मानिस चकित भए। अझ रुसजस्तो शक्तिशाली मुलुकको प्रतिरोधमा युक्रेनले देखाएको बहादुरीबाट स्वयं रुस समेत आश्चर्यमा परेको हुनुपर्छ।

त्यसैले नै संसारको समर्थन युक्रेनलाई प्राप्त भएको छ। कूटनीतिक रुपले रुस एक्लो देखिएको छ। अन्य मुलुक र संस्थाहरुले रुससँगको आर्थिक सम्बन्ध धमाधम कटौती गर्दैछन्। सिंगो युरोप एक ढिक्का भएर रुसविरुद्ध आर्थिक नाकाबन्दी लगाउन कस्सिएको छ। कतिसम्म भने तटस्थ रहेका मुलुकहरुले पनि युक्रेनमा हतियार पठाउने निर्णय लिएका छन्। आफ्ना नागरिकलाई रुसविरुद्ध लड्न जाने अनुमति दिएका छन्।

युद्ध सुरु भएयता युक्रेनी सरकारका हरेक दाबीले बिनाकुनै परीक्षण पश्चिमका मूलधारका सञ्चारमाध्यममा ठाउँ पाएका छन्। तिनलाई मान्ने हो भने यस्तो लाग्छ, युक्रेनमा रुस निश्चित रुपमा हार्दैछ र रुसमा भ्लादिमिर पुटिनको शासन चाँडै ढल्दैछ।

हो, युद्धको नतिजा खराब निक्लिए पुटिनको दिनगन्ती सुरु हुनसक्छ। र, पश्चिमा मुलुकले सैन्य हस्तक्षेप गर्ने हो भने रुस हार्न पनि सक्छ। तर, यतिबेलाको सैन्य शक्तिसन्तुलनको हिसाबले रुसको हात निकै माथि देखिन्छ।

रुस र युक्रेनको सैन्य शक्ति
सबैभन्दा पहिले यी दुई मुलुकले सेना र हतियारमा गर्ने खर्च हेरौँ। २०२१ मा युक्रेनले रक्षा क्षेत्रमा ४.७ अर्ब डलर खर्चियो। सोही वर्ष रुसले युक्रेनको भन्दा १० गुणा बढी ४५.८ अर्ब डलर खर्च गर्यो। 

रुसले २००८ को जर्जिया युद्धमा आफ्नो कमजोरी देखिएपछि सेनाको आधुनिककीकरण सुरु गर्यो। खासगरी २०१२ मा रक्षामन्त्री भएपछि सेर्गेई सोइगुले रुसी सेनालाई अलग स्वरुपमा लगेको बताइन्छ। त्यसयता रुसले केही यस्ता हतियार विकास गरिसकेको छ, जुन अमेरिकाको भन्दा पनि अत्याधुनिक मानिन्छ।

अर्कोतिर, युक्रेनका प्रायः हतियार सोभियत संघकालीन छन्। उसले नेटोमा जोडिने, सेनाको आधुनिकीकरण गर्ने जस्ता योजना बनाएको थियो। जसका कारण अहिलेको युद्ध सुरु भएको हो।

रुससँग ९ लाख सक्रिय र २० लाख रिजर्भ फौज छ। युक्रेनसँग झण्डै दुई लाख सक्रिय र ९ लाख रिजर्भ सैनिक छन्। बुधबारदेखि युक्रेनले १८ देखि ६० वर्षबीचकाहरुलाई भर्ती गर्न थालेको छ।

हतियारको संख्यामा पनि रुस धेरै अगाडि छ। रुससँग झण्डै १६ हजार बख्तरबन्द वाहन छन् भने युक्रेनसँग ३३ सय। 

युक्रेनसँग जम्मा १२८ वटा विमान छन् भने रुससँग झण्डै १४ सय। हेलिकोप्टर युक्रेनसँग ५५ वटा छन्, रुससँग ८२१ वटा।

पन्डुब्बी जहाज रुससँग ४९ वटा छन् भने युक्रेनसँगै एउटै छैन।

युक्रेनलाई अन्य मुलुकहरुले सहयोगस्वरुप हतियार पठाउने योजना सार्वजनिक गरेका छन्। तर, ती हतियार कहिले युक्रेन पुग्छन्, तिनले लडाइँमा कस्तो प्रभाव पार्छन्, देखिन बाँकी नै छ।

कागजी हिसाबमा हेर्ने हो भने रुस र युक्रेनको शक्तिबीच तुलनै हुँदैन। हरेक हिसाबले रुस कयौँ गुणा माथि छ। तर, शक्तिमा यत्रो फरक हुँदाहुँदै रुसी सेनाले किन झटपट युक्रेन कब्जा गर्न सकेन त? 

रुसको हिसाबकिताबमा गडबडी!
युद्धको परिणामबारे अहिले नै ठोकुवा गर्न कठिन भए पनि प्रायः सैन्य विश्लेषकहरुले युक्रेनमा रुसले गलत रणनीति अख्तियार गरेको निष्कर्ष निकालेका छन्।

‘रुसीहरुले के गर्न खोजेका हुन् भन्ने ठम्याउन मलाई लामो समय लाग्यो। किनभने त्यो एकदम हास्यास्पद र अनुपयुक्त देखिन्छ,’ सीएनए नामक थिंक ट्यांकमा रसियन स्टडिजका निर्देशक माइकल कफम्यान बताउँछन्।

‘किभलाई तुरुन्त कब्जामा लिने, आत्मसमर्पण गर्न बाध्य बनाउने र ठूलो लडाइँ हुन नदिन ससाना टुकडीलाई छिटो अगाडि बढाउनेमा रुसी कारबाही केन्द्रित देखिन्छ। उनीहरु ठूला सहरबाट तर्केर महत्वपूर्ण सडक, नाका र साना सहरतिर गइरहेका छन्,’ कफम्यान ट्विटरमा लेख्छन्, ‘रुसले किन यो शैली अख्तियार गर्यो? किनभने उनीहरुले युक्रेन र युक्रेनी सेनालाई गम्भीरतापूर्वक लिएनन्।’

ठूलो विनाश हुन नदिन रुसले यस्तो गरेको हुनसक्ने उनको भनाइ छ। 

‘उनीहरुले छिटो र संस्तोमा लडाइँ जित्न खोजेको जस्तो देखिन्छ। तर, त्यो अवधारणाले काम गरेन। असफल रणनीतिमा उनीहरु थप स्रोत खन्याउन बाध्य भए,’ उनी लेख्छन्, ‘तर, यो युद्ध सुरु भएको केही दिन मात्र हुँदैछ। युक्रेनले गतिलो काम गरेको छ। तर, कुनै पनि विश्लेषकले रुसले चार दिनमा युक्रेनलाई हराउने अपेक्षा गरेको थिएन।’

टी–७२ ट्यांक

कतिपय विश्लेषकले रुसी सेनालाई झुक्याएर लडाइँमा पठाइएको, उनीहरु हेर्दा मात्रै बलियो तर मैदानमा कमजोर देखिएको जस्तो तर्क पनि गरेका छन्। तर, युक्रेनमा रुसको योजना उनीहरुले सोचेअनुरुप नै अघि बढिरहेको डेविड पी गोल्डम्यान एसिया टाइम्समा लेख्छन्।

‘रुसीहरुलाई हतार छैन। तिनले युक्रेनीहरुलाई विभिन्न घेरामा कैद गर्नेछन्। अनि वार्तामा आऊ अन्याथा मर्छौ भन्नेछन्। यो सफल सूत्र हो,’ एक युरोपेली गुप्तचर विश्लेषकको भनाइ उनले उधृत गरेका छन्।

‘विनिङ स्पेसः हाउ अमेरिका रिमेन्स अ सुपरपावर’ पुस्तकका लेखक ब्रान्डन जे वाइकर्ट रुसीहरुले युक्रेनी सेनाको नाडी छामिरहेको तर्क गर्छन्।

‘रुसले आफ्नो मुख्य शक्ति प्रयोगमा ल्याएको छैन। अहिले उनीहरु युक्रेनी रक्षाको नाडी छाम्न, युक्रेनको गोलाबारुद रित्याउन र किभलाई घेर्न इच्छुक देखिन्छन्,’ एसिया टाइम्समा वाइकर्ट लेख्छन्, ‘रुस युद्ध हार्दै छैन। उनीहरु युक्रेनको सेनालाई थकाउँदैछन्। भ्लादिमिर पुटिन जुडोमा पोख्त छन्। जुडो खेलाडीले जहिल्यै विपक्षीलाई नियालिरहेको हुन्छ– कुनै परिवर्तन वा कमजोरीको देखिन्छ कि भनेर। जब कमजोरी देखिन्छ, तब तुरुन्तै चाल चलेर विपक्षीलाई अनेपेक्षित रुपमा हराउँछ।’

कस्ता हतियार प्रयोग हुँदैछन् युक्रेनमा?
सेप्टेम्बर २०२० मा सुरु भएको अजरबैजान र अर्मेनियाबीचको ४४ दिने युद्धलाई हेरेर प्रविधिका कारण लडाइँको प्रकृति नै बदलिएको निष्कर्ष सैन्य विश्लेषकहरुले निकालेका थिए। टर्कीबाट खरिद गरेको ड्रोन अजरबैजानको जितका लागि निर्णायक साबित भएको थियो। जसले अर्मेनियाको हवाई प्रतिरक्षालाई ध्वस्त तुल्याएको थियो। 

तथापि रुसले युक्रेनको लडाइँमा अत्याधुनिक हतियारको प्रयोग गरेको छैन। युद्धको पहिलो दिन रुसले युक्रेनी सेनाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न क्रुज क्षेप्यास्त्र, ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। रुसले प्रहार गरेका ती हतियार छोटो र मध्यम दुरीको भएको बताइएको छ। 

सडकमा रुसी फौजले टी–७२ ट्यांक, बख्तरबन्द गाडी प्रयोग गरेको पाइएको छ। पैदल सैनिकले भने कलानिस्कोव राइफलका विभिन्न भेरियन्ट बोकेका छन्। 

रुसले २७एम माल्का नामक हावित्जर तोप पनि प्रयोग गरेको छ। हेलिकोप्टरमा एमआई८ र केए–५२ प्रयोग भएका छन्।

रुसले निकै डरलाग्दो मानिएको टीओएस–१ नामक थर्मोब्यारिक रकेट पनि युक्रेनमा पुर्याएको बताइएको छ। भ्याकुम बम भनिने यसको गोलाले वरिपरिको अक्सिजन समेत सोसेर भयानक विस्फोट र ज्वाला उत्पन्न गर्ने गर्छ। 

तर, रुसले आफ्नो मुख्य शक्तिलाई सिधा लडाइँमा नहोमेको कफम्यान बताउँछन्। 

‘सत्य के हो भने रुसी सेनाको ठूलो हिस्सा अझै लडाइँमा प्रवेश गरेको छैन। उसले आफ्नो धेरैजसो क्षमता प्रयोग गरेको छैन। लडाइँको चौथो दिनमा पनि रुसले आफ्नो रणनीतिक विमानहरु प्रयोग गरेको छैन,’ उनी भन्छन्, ‘केही एसयू–२५ बाहेक अरु सबै लडाकु विमान युद्धमा प्रयोग भएका छैनन्, त्यस्तै, लडाकु हेलिकोप्टर पनि प्रयोग गरिएको छैन। रुसी वायु सेना यो लडाइँमा देखिएकै छैन।’

युक्रेनले भने बेलायतले दिएको ज्याभेलिन एन्टिट्यांक गाइडेड मिसाइल, स्टिन्जर क्षेप्यास्त्र, टीबी२ ड्रोन, १५२ को तोप लगायत हतियार प्रयोग गरिरहेको छ। 

युक्रेनले प्रयोग गरिरहेको ज्याभेलिन एन्टिट्यांक मिसाइल

आउँदो तुफान
सोमबार बेलारुसमा रुस र युक्रेनबीच वार्ता भएको थियो। पाँच घण्टा लामो वार्ता बिनाकुनै निष्कर्ष टुंगिएको छ। युक्रेनले युद्धविराम गरेर रुसी फौज फिर्ता हुनुपर्ने बताएको छ भने रुसले युक्रेनको तटस्थता, निशस्त्रीकरण र नाजीविहीनता तथा क्रिमियामा रुसी स्वामित्व स्वीकार गर्नुपर्ने सर्त राखेको छ। बुधबार पोल्यान्ड र बेलारुसको सीमामा दोस्रो चरणको वार्ता हुने बताइएको छ। तर, वार्ताप्रति दुवै पक्ष आशावादी देखिँदैनन्।

राजधानी किभनजिकै स्याटलाइटबाट देखिएको रुसी सैनिकका सवारी

यही बीचमा रुसले आक्रमणको तयारी अझ बढाएको छ। बेलारुसबाट प्रवेश गरेको रुसी सवारीको ६४ किलोमिटर लामो लस्कर राजधानी किभबाहिरसम्म पुगेको छ। मंगलबार किभको उत्तरपश्चिमी भेगमा ठूलो रुसी फौज जम्मा भएको देखिन्छ। जो राजधानी सहरलाई पुरै घेर्न तम्तयार देखिन्छ।

दक्षिणी भेगमा रुसले कब्जा गरेको क्षेत्रफल फैलिँदै गएको छ। दोस्रो ठूलो सहर खार्कोवमा सोमबार गोलाबारीमा परी ११ सर्वसाधारणको ज्यान गएको छ। मंगलबार त्यहाँ सडकमै आमनेसामने लडाइँ चलेको छ।

अमेरिकाले जहिले पनि युद्धमा आफ्ना महंगा विमानको सहायताबाट हवाई प्रभुत्व स्थापित गर्छ। त्यो महंगो हुने भएकाले रुस गोलाबारीमा बढी निर्भर रहने गर्छ। त्यसैले रुसी सैन्य कारबाहीको मुख्य पहिचान भनेको भीषण गोलाबारी हो। त्यसका लागि रुसी सेनाले मल्टिपल रकेट लन्च सिस्टम (एमएलआरएस) बढी प्रयोग गर्छ। दुश्मन एक ठाउँमा केन्द्रित भएको अवस्थामा त्यो पुरै क्षेत्रलाई निसाना बनाउन यो हतियार प्रयोग गरिन्छ। लडाइँको पहिलो दिन रुसले सूक्ष्म निसाना लगाउने क्षेप्यास्त्र प्रहार गरेको थियो। तर, सिंगो क्षेत्रलाई ध्वस्त बनाउने क्लस्टर बम र एमएलआरएसको प्रयोगले रुसी लडाइँको तरिका बदलिँदै गएको देखिन्छ।

अझ सहरी क्षेत्रमा यस्तो हतियार प्रयोग हुनुको अर्थ हो– बढी क्षति। यी हतियार रुसले चेचेन्या र सिरियामा पनि प्रयोग गरिसकेको छ।

युक्रेनबाट भाग्दै गरेकाहरुको गाडीको लस्कर

यदि रुसले २८ लाख जनसंख्या भएको राजधानी किभ घेरा हालेर बिजुली र खाद्यान्न ठप्प गरिदियो भने त्यो सहर कति समय टिक्छ, अहिले भन्न सकिने अवस्था छैन। रुसी रक्षा मन्त्रालयले किभका बासिन्दालाई सहर छाड्न भनिसकेको छ। 

पुटिनको भविष्य धेरै हदसम्म युक्रेनको लडाइँमा निर्भर छ। त्यसकारणले पनि रुस सानोतिनो प्रतिरोधबाटै युक्रेनबाट पछि हट्ने सम्भावना देखिँदैन। युद्ध लम्बिँदै जाँदा आक्रमण सघन हुने र त्यसले झन् धेरै मानवीय र भौतिक क्षति निम्त्याउने सम्भावना देखिन्छ।

‘युद्धको पाँचौँ दिन हेर्दा ठूला परिवर्तन देखिँदैछन्,’ कफम्यान लेख्छन्, ‘रुसी सेना आपूर्ति व्यवस्थित गर्दैछ र पुनर्संठित हुँदैछ। युक्रेनको सेनाले निकै राम्रो काम गरेको छ। तर, मलाई लाग्छ, आगामी दिनमा रुसको एकदम अलग तरिका हामी देख्नेछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .