ad ad

ग्लोबल


सिक्किमदेखि केरलासम्म ठगी मुद्दा खेपेका व्यक्ति भारतीय दलका सबैभन्दा ठूलो चन्दादाता

चिठ्ठा व्यवसाय गर्ने मार्टिनले ६ वर्षमा दिए झन्डै १४ अर्ब भारु चन्दा
सिक्किमदेखि केरलासम्म ठगी मुद्दा खेपेका व्यक्ति भारतीय दलका सबैभन्दा ठूलो चन्दादाता

नेपालखबर
चैत ७, २०८० बुधबार २०:१०,

भारतमा पछिल्लो समय एक व्यक्ति अचानक चर्चामा आएका छन्। भाग्यचिठ्ठा बेचेर धनी भएका उनी राजनीतिक दलहरूलाई सबैभन्दा बढी रकम दिने दाता भएको खुलासा भएको छ। उनी हुन्– सान्टियागो मार्टिन।

अप्रिल २०१९ देखि जनवरी २०२४ सम्म मार्टिनको कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिसेज प्रालिले १३.६८ अर्ब भारुतीय रुपैयाँको इलेक्टोरल बन्ड खरिद गरेको थियो। इलेक्ट्रोरल बन्ड यस्तो व्यवस्था हो, जसमार्फत चन्दादाताले आफ्नो पहिचान सार्वजनिक नगरी राजनीतिक दललाई ठूलो मात्रामा चन्दा दिन सक्छ।

हालै सर्वोच्च अदालतले यो व्यवस्था हटाउँदै चन्दादाताको नामावली प्रकाशित गर्न आदेश दिएको थियो।

यसअघि यसरी चन्दा दिनु अवैध नभए पनि इलेक्टोरल बन्डले राजनीतिक दलमा हुने लगानीलाई अपारदर्शी बनाएको आरोप लाग्दै आएको थियो। यो व्यवस्था भारतीय जनता पार्टीको सरकारले २०१७ मा ल्याएको थियो। र, यसको सबभन्दा ठूलो फाइदा पनि उसैलाई भएको देखिन्छ। २०१८ देखि २०२४ सम्ममा खरिद गरिएका इलेक्टोर बन्डको झन्डै आधा हिस्सा भाजपाले पाएको छ।

मार्टिनको कम्पनीले दिएको ५ अर्बभन्दा ज्यादा रकम तमिलनाडुको पार्टी डीएमकेलाई गएको देखिन्छ। जहाँबाट मार्टिनले आफ्नो व्यवसाय सुरु गरेका थिए। उनले बाँकी रकम दिएका दलहरू कुनकुन हुन्, स्पष्ट छैन।

मार्टिनले जीवनमा गरिबीबाट सम्पन्नतासम्मको चमत्कारी यात्रा गरेको देखिन्छ। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक उनी हाल भारतका कयौँ राज्यदेखि भुटानसम्म चिठ्ठा साम्राज्य चलाउँछन्। 

६३ वर्षीय मार्टिन विवादास्पद व्यक्ति पनि हुन्। विभिन्न राजनीतिक विवादमा उनको नाम जोडिँदै आएको छ भने सरकारी अधिकारीहरूले उनले चिठ्ठामा ठगीलगायत वित्तीय अनियमितता गरेको आरोप लगाएका छन्।

इलेक्टोरल बन्डको तथ्यांक सार्वजनिक भएपछि मार्टिनले कुनै वक्तव्य दिएका छ्रैनन्। 

उनको जन्म १९६१ मा अन्डमान टापुमा भएको थियो। किशोर अवस्थामा हुँदा उनी म्यानमारमा दैनिक ज्यालादारीमा काम गर्थे।  १९८० को दशकमा उनी भारत फर्किए र तमिलनाडुको एउटा चिया पसलमा काम गर्न थाले।

तमिलनाडुमा चिठ्ठाको लोकप्रियताबाट उनी छक्क परे। खासगरी गरिबहरू यसप्रति मोहित थिए। यसैले उनलाई चिठ्ठा व्यवसाय सुरु गर्न प्रोत्साहित ग¥यो र उनी लखपति बने।

उनले आफ्नो पहिलो पसल कोइम्बतुरमा खोले। केही वर्षभित्रै उनी दुई प्रतिस्पर्धीलाई उछिनेर तमिलनाडुको सबैभन्दा ठूलो चिठ्ठा बिक्रेता बने।

दुई अंकको चिठ्ठा भनेर चिनिने स्क्र्याच कार्डको बिक्री उनले बढाए। विजेता अंक टीभीमार्फत खुलासा हुन्थ्यो। त्यसलाई हेर्न ससाना टीभीअगाडि मानिसहरूको भीड लाग्ने गर्थ्यो।

ठाउँको ठाउँ चिठ्ठा जितेर धनी भएको देखेर चिठ्ठा किन्ने बढे। कतिपय टाट पल्टिए।

उनको चिठ्ठाले चाँडै नै छिमेकी कर्नाटक र केरला राज्यमा बजार पायो। त्यसपछि उत्तरी भारतमा पनि उनको व्यवसाय विस्तार भयो।

२००१ को एक अन्तर्वार्तामा उनले प्रत्येक दिन आफूले १ करोड २० लाख चिठ्ठा बेच्ने गरेको बताएका थिए। 

चिठ्ठा बिक्रीवापत तमिलनाडुमा दैनिक ३ लाख ५० हजार रुपैयाँ कर तिर्ने गरेको र सिक्किममा ७ लाख ५९ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको बताइएको छ।

‘म सफल भएँ किनकि मैले क्रेताको मनोविज्ञान र व्यापारको काइदा बुझेँ,’ उनले भनेका थिए।

सोही आलेखमा उनीमाथि आयकरका सम्बन्धमा अनुसन्धान चलिरहेको बताइएको थियो। 

२००३ मा मुख्यमन्त्री जयललिताले तमिलनाडुमा कयौँको घरबार उजाडिएको चिठ्ठामा प्रतिबन्ध लगाइन्। यो मार्टिनका लागि ठूलो झट्का थियो।

२०११ मा जयललिता फेरि मुख्यमन्त्री हुँदा मार्टिन पक्राउ परे। जमिन कब्जाको मुद्दामा उनलाई केही महिना जेल पनि हालियो। पछि धरौटीमा रिहा भए।

केरलासहितका राज्यमा पनि उनीमाथि ठगीको आरोप छ। 

२०२१ मा सिक्किममा चिठ्ठामा ठगी गरेको मुद्दामा उनको ४.५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति र ब्यांक ब्यालेन्स रोक्का गरिएको थियो।

सो आदेशविरुद्ध उनको पुनरावेदन त्यही वर्ष खारेज भएको थियो। यद्यपि, हालसम्म उनी कुनै पनि मुद्दामा दोषी ठहर भएका छैनन्।

कम्पनीको वेबसाइटका अनुसार मार्टिनले आफ्नो व्यवसाय रियल स्टेट, हस्पिटालिटी र स्टिलका क्षेत्रमा विस्तार गरेका छन्। 

२००७ मा पनि उनी केरलामा विवादमा आएका थिए। तत्कालीन कम्युनिस्ट मुख्यमन्त्री भीएस अच्युतानन्दनले आफ्नै पार्टीको पत्रिकाले मार्टिनसँग दुई करोड रुपैयाँ चन्दा लिएको भन्दै सार्वजनिक आलोचना गरेका थिए। पछि पार्टीले सो पैसा फिर्ता गरेको थियो। 

त्यतिबेला अच्युतानन्दनले अवैध चिठ्ठाविरुद्ध कारबाही तीव्र बनाएका थिए।

२०११ मा मार्टिनले तमिल भाषामा म्याक्सिम गोर्कीको आमा उपन्यासमा आधारित एउटा फिल्म निर्माण गरे। त्यसका लागि डीएमके नेता तथा पूर्वमुख्यमन्त्री एम करुणानिधिले पटकथा लेखेका थिए। फिल्मको बजेट २० करोड हाराहारी थियो, तर त्यसले नकारात्मक समीक्षा पायो।

वर्तमान मुख्यमन्त्री एमके स्टालिनले २०१९ मा मार्टिनसँग ५ अर्ब रुपैयाँ चन्दा सम्झौता गरेको भन्दै समाचार लेखेपछि स्टालिनले एउटा पत्रिकाविरुद्ध मानहानिको मुद्दा समेत हालेका थिए। मार्टिनले आफ्नो पार्टीलाई कहिल्यै चन्दा नदिएको उनको दाबी थियो।

अहिले विपक्षी दलहरूले चिठ्ठा प्रतिबन्ध रहेको तमिलनाडुमा डीएमकेलाई मार्टिनले किन चन्दा दिए भनेर प्रश्न उठाइरहेका छन्। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .