ad ad

विचार


भारतीय गुप्तचरको फन्दामा परेको नेपालमा अब हिन्दूत्वको हस्तक्षेप

भारतीय गुप्तचरको फन्दामा परेको नेपालमा अब हिन्दूत्वको हस्तक्षेप

हिमाल साउथ एसियन पत्रिकाका संस्थापक सम्पादक कनकमणि दीक्षित पत्रकार र लेखक हुन्


कनकमणि दीक्षित
साउन २०, २०८० शनिबार ७:६, काठमाडौँ

स्वतन्त्र मिडियाको अभ्यास भइरहेको र हामीले लोकतान्त्रिक देश मान्दै आएको भारतको राजनीति, मिडिया र अन्तरसामुदायिक सम्बन्ध हाम्रै आँखाअगाडि ध्वस्त हुँदै गएको छ। हाम्रो राजनीति र सामाजिक दृष्टिकोणलाई गाँजिरहेको खुला सिमाना पारिपट्टि भइरहेको यस्तो वातावरणमा त्यहाँको मिडियाको अवस्था चाहिँ के छ? त्यसमाथि केन्द्रित रही चर्चा गर्नुका साथै नेपालमा हिन्दूत्वको प्रवेश कति र कसरी भएको छ? यो कति ठूलो खतरा हो, होइन? केलाउने प्रयत्न गर्नेछु। 

यत्ति बुझौँ कि, हामीले काठमाडौंमा अहिले जुन शीर्षकमा छलफल गरिरहेका छौँ, कम्तीमा पनि उत्तर भारतमा यस्तो शीर्षक सहितको भेला हुनै सक्दैन। सन् २०१४ मा जब नरेन्द्र मोदी प्रधानमन्त्री बनेर भर्खरै सत्तामा पुगेका थिए, मैले मद्रासमा एकजना पूर्वराजदूतसँग कुरा गरेको थिएँ। मोदीको कुरा उठ्नेबित्तिकै उनले आफ्नो दायाँबायाँ हेरेर मात्र कानेखुसी अगाडि बढाए। अहिले त अवस्था त्यो भन्दा धेरै बिग्रिसक्यो। भारतमा त्रासको वातावरण छ।

भारतमा मूलधारका मिडियामा बाटो बन्द भएपछि केही साहसिक पत्रकारले आफैँले खोलेका अनलाइन र युट्युबबाट पत्रकारिता गरिरहेका छन्। यी केही अपवादबाहेक बाँकी मूलधारका मिडिया जसको स्रोता, दर्शक र पाठक हामी नेपाली पनि हौं, हिन्दूत्व राजनीतिको सामु ध्वस्त भएको छ। त्यहाँको मूलधारको मिडियाले हाम्रो समाजको मानसपटललाई पनि बदलिरहेको हुनाले भारतीय मिडिया बिग्रेको छ है भनेर खालि अवलोकन र विश्लेषणले मात्र पुग्दैन, नेपाली समाजसामु सत्यतथ्य पेस पनि गर्नु पर्छ। किनकि नेपाली समाजले भारतीय मिडियाको सहारामा पनि विचार बनाउँछ। भारतीय टेलिभिजन र मूलधारका मिडिया हेर्ने/पढ्ने हो र प्रस्तुत सामग्री पत्याउने हो भने त हामी पनि हिन्दूत्ववादी भइदिन्छौँ। त्यसैले नेपाली मिडियाको दायित्व महत्वपूर्ण छ। 

हामी नेपालमा अहिले तुलनात्मक रूपमा दक्षिण एसियामै सबभन्दा लोकतान्त्रिक समाज भएर बाँचिरहेका छौं। खुला समाजमा छौं। यद्यपि हाम्रो लोकतान्त्रिक मापन गिर्दाे छ, हाम्रो खुला समाजको मापन पनि गिर्दाे छ। तर, सबै कुरालाई सापेक्ष रुपमा हेर्नु पर्दछ। तुलनात्मक रूपमा हेर्दा म खुला रुपमा बोल्नसक्ने अवस्थामा छु। म अहिले पुष्पकमल दाहालका बारेमा जे जति बोलुँला, त्यति भारतमा नरेन्द्र मोदीको बारेमा एउटा खुला मिडिया भेलामा बोल्न सक्ने अवस्था छैन। मोदीविरुद्ध टेलिभिजन, प्रिन्ट, रेडियो र युट्युबमा बोल्न सकिन्छ? साहसीले गर्न सक्छन्, अपवादको रूपमा मात्र। 

हाम्रो आफ्नो परिस्थिति र विभिन्न ऐतिहासिक कारणले गर्दा नेपालमा अहिलेसम्म खुला समाज छ। अग्रजहरूले हामीलाई यो वातावरण उपलब्ध गराइदिनु भयो। खुला समाज रहनुपर्ने हाम्रो आफ्नो लागि त हो नै, बाँकी दक्षिण एसियाको लागि पनि हो, किनकि अन्य दक्षिण एसियालीको निर्धक्क भेटघाटको थलो बनेको छ नेपाल। हामीले हेर्‍यौं भने बंगलादेशमा शेख हसिनाको बारेमा सबैको मुख बन्द छ। त्यहाँ ‘र्‍यापिड एक्सन बटालियन’ले मान्छे बेपत्ता पार्ने काम गरिरहेको छ तर त्यसको विरुद्ध बोल्ने अवस्था छैन। पाकिस्तानमा ‘मिलिटरी इन्टेलिजेन्स’को बोलवाला छ। श्रीलंकामा जुन खालको अतिवादी राजनीति भयो त्यसबाट नागरिक समाज अझै बाहिर आउन सकिरहेको छैन।

हिन्दूत्वको घुसपैठ
अमेरिकी संविधानवादमा एउटा प्रयोग छ, ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर’ (प्रत्यक्ष र विद्यमान खतरा)। त्यहाँको सर्वाेच्च अदालतले सन् १९१६ मा आफूले प्रतिपादन गरेको ‘डक्ट्रिन’ अनुसार कुनै निर्णय गर्नुपर्दा यदि समाजलाई ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर’ छ भन्ने लागे ‘यति कुरा गरिहाल्नुपर्छ’ भनी निर्णय लिन्छ, निर्देशन दिन्छ। मलाई लाग्छ, नेपालमा अहिले भारतको हस्तक्षेपको सन्दर्भमा हाम्रो राज्य र समाजसामु ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर’ खडा भएको छ। यसको अर्थ हाम्रो समाज ‘प्रत्यक्ष र विद्यमान खतरा’मा छ।

भारतको हस्तक्षेप एउटा स्तरमा त छँदैथियो, हामीले त्यसको सामना गर्दै आएका पनि हौँ। तर अहिले आएर त्यहाँको सत्ता सञ्चालन गर्ने आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) र सत्तासीन दल भाजपा (भारतीय जनता पार्टी) ले हिन्दूत्व एजेन्डा बोकेर नेपाल छिरेको हुनाले शान्ति, सुरक्षा, अमनचयन तथा राष्ट्रिय पहिचान समेतको सन्दर्भमा ‘प्रत्यक्ष र विद्यमान खतरा’ छ।

६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ढल्दा भारतमा जुन खालको दंगा भयो, त्यसले नजिकैको खुला सिमाना पार गर्न पाएन। चन्द्रौटाको घटना (३० भदौ २०६४) ले केही हदसम्म दंगाको रूप लिन खोजे पनि त्यसलाई हाम्रा राजनीतिकर्मी, नागरिक समाज लगायतले मिलेर थामथुम पार्ने काम गरे। तर अहिले समय बदलिएको छ। सामाजिक सञ्जालका कारण हामी यतिबेला अर्कै संसारमा छिरिसक्यौँ। ह्वाट्सएप, भाइबर र टिकटकको जमानामा दंगा सल्कियो भने सम्हाल्न पहिलाजस्तो सजिलो छैन। 

त्यसमाथि अहिलेको राजनीति धेरै नै बिग्रिएको छ र जनताले भरोसा गर्ने दुई वटा ठूला राजनीतिक दलको क्षमतामा नै प्रश्न उठिसक्यो। माओवादीको कुरा गर्ने हो भने उसलाई जति बिग्रियो, त्यति नै राम्रो। अन्य नयाँ पार्टीहरूमा कोही सिक्दैछन्, कुनैको सिद्धान्त नै प्रस्ट भइसकेको छैन र सत्तामा जाने होडमा आफ्नो धारा र दर्शन स्थापित गर्नबाट चुकिरहेका छन्। 

यदि समाजमा कुनै खालको विग्रह आइहाल्यो भने कांग्रेस र एमालेले अन्य दलहरूको साथ लिएर त्यसलाई सम्हाल्न सक्ने क्षमता अहिले छ जस्तो लाग्दैन। कसैले भन्ला, भारतबाट यत्रो खतरा देख्ने कुरा अतिरञ्जित हो। ‘कनकले हिजो पुष्पकमल दाहालको विरोध गथ्र्यो, अब भारतको विरोध गर्न थालेछ’ भन्लान्। यी सबै भनाइको सामना गर्न म तयार छु। कामना गरौँ, हिन्दूत्वको राजनीतिले हाम्रोमा टेक्ने ठाउँ नपाओस्, बिगार नगरोस् र मेरो विश्लेषण गलत नै होस्। तर मेरो बुझाइमा घृणा र विद्वेष भड्काउने तत्व छिरिसकेको छ र हामी ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर’ को अवस्थामा छौँ।

बीपी र जवाहरलाल
बेलायतकालीन नेपालमा राणाजीहरूले भारतका शासकलाई जसोतसो खुसामद बनाएर आफू बच्ने क्रममा नेपाललाई पनि बचाए। सात सालपछि नयाँदिल्लीले हरेक तरिकाले नेपालमा हस्तक्षेपकारी नजर लगाइरह्यो। नेपालको राजकाज सबल र बलियो भएको बेला त्यो हस्तक्षेप घट्थ्यो पनि होला तर अरू बेला हामी भासमा पथ्र्यौँ। कुनै समस्या आइपुग्दा जसोतसो जनताकै सहभागिता र सुझबुझले हल गरिन्थ्यो। जस्तैः तीन/तीन वटा नाकाबन्दीका बेला। तर, हस्तक्षेप भने निरन्तर रूपमा रहिरह्यो। 

एउटा प्रसंग– बीपी कोइराला कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतलाई भन्छन्, ‘मलाई जेपी (जयप्रकाश नारायण) ले भनेका छन् कि तिमीले जवाहरलाल नेहरूलाई आफ्नो मित्र ठानेर गल्ती गर्दैछौ। तिमी नेहरूसँगसँगै भारतीय स्वतन्त्रता संग्राममा लड्यौ होला तर अहिले ऊ एउटा ‘नेसन–स्टेट’को प्राइममिनिस्टर बनिसक्यो। अब उसको र तिम्रो स्वार्थ मेल खाँदैन।’ 

जेपीले बीपीलाई भनेको र बीपीले अमेरिकी महावाणिज्यदूतलाई सुनाएको यो संवाद एकजना शोधकर्ताले अमेरिकन स्टेट डिपार्टमेन्टको दस्तावेजबाट निकालेर हाम्रोसामु ल्याइदिएका छन्। भारतीय हस्तक्षेप नेहरूको बेलादेखि निरन्तर छ र फर्केर हेर्दा प्रस्टै छ कि भारतको पहिलो प्रधानमन्त्री नेपाललाई गुलामी प्रदेशको रूपमा राख्न चाहन्थे।

प्रश्न उठ्छ, किन छ यस्तो हस्तक्षेप? एक, दुई, तीन बुँदामा म भनिहाल्छु। नम्बर एक, खुला सिमाना। नम्बर दुई, हिमाली शृङ्खला। नम्बर तीन, नेपाल स्वतन्त्र र अलग रहेको देख्दाको कुण्ठा। भारतका केही राजनीतिज्ञ र कर्मचारीतन्त्रका मान्छेको मनमा कतै न कतै यो छ कि नेपाल मात्र किन स्वतन्त्र देश रहिरह्यो? नेपालभन्दा धनी र बलिया राज्यहरू हैदराबाद, पटियाला ग्वालियर सामेल गरिए तर यो नेपाल कसरी फुत्कियो? 

भारतलाई हिमालय शृङ्खलाको महत्व चीनसँगको युद्धपछि बढ्न गयो। सन् १९६२ को चीनसँगको युद्धमा हार बेहोरेपछि नयाँदिल्ली यति त्रसित भइदियो, त्यसले नेपालको सुरक्षामा असर पर्न गयो। भारतका यस्ता कुराकोे विश्लेषण गरेर प्रतिकार गर्न सक्ने हाम्रो क्षमता नै भइदिएन। नेपालबारे बताइदिन पनि हाम्रो कमजोरी भयो, अंग्रेजी लेखनमा हाम्रो पहुँच कम छ।

भारतीय पक्षले निरन्तर भन्दै आइरहेको छ कि खुला सिमानाबाट उसलाई खतरा छ। यदि उसलाई आतंकवाद र तेस्रो देशबाट अतिक्रमणको खतरा छ भने केही गरौँ न त। तर खुला सिमानाको नियमनबारे उनीहरू नै कुरा गर्न चाहँदैनन्। अर्को यथार्थ यो हो कि खुला सिमानाबाट हुने घुसपैठले कसैलाई घाटा गरेको छ भने नेपाललाई छ। माओवादीले कता तालिम लिए? कहाँ बसेर आन्दोलन चलाए? खुला सिमानाले भारतमाथि खतरा छ भनी जहिले पनि नेपालमाथि दबाब आउँछ, तर नेपालले कहिल्यै पनि भारतलाई अप्ठेरो पार्ने काम गरेकै छैन र त्यस्तो नीति पनि छैन। छिमेकी स्वार्थमा नेपाल जहिल्यै अति लचिलो भएको छ जबकि माओवादीको खुला सिमाना प्रयोग हेर्ने हो भने असर आफैँमाथि परेको छ। 

हाम्रो यो कुरा भारतीय मूलधारका मिडियामा छिराउन सकेकै छैनौँ, दुई पक्षीय डिस्कोर्समा यो ‘पोइन्ट अफ भ्यु’ लग्नै सकेका छैनौँ। नेपाली सोच, नेपाली भावना, नेपाली ‘सेन्स् अफ इन्डिपेन्डेन्स्’बारे पर्याप्त बुझाइ भारतमा छैन। यतिसम्म कि त्यहाँको सरकारले मिडियामा कडाइ गर्न थालेपछि त झन् नेपालको ‘पोइन्ट अफ भ्यु’ प्रस्तुत गर्न भारतीय मिडिया अन्कनाउँदै छन्। 

जासुसी हस्तक्षेप
बीपी हुँदै अहिले हामी पुष्पकमल दाहाल नेतृत्वको ‘कन्फर्टेबल सरकार’को पालासम्म आइपुगेका छौँ। स्वतन्त्रता सङ्ग्रामका भारतीय नेताहरू जो पछि प्रधानमन्त्री र राष्ट्रपतिसम्म बन्न पुगे, राजेन्द्रप्रसाद लगायतकाले हाम्रा नेतासँग जेलबास बिताएका हुन्। नेपालका नेताहरू सहयोद्धा भएका कारणले तिनले सिधै नेपाललाई नियन्त्रणमा लिन सकेनन् र नेपालका बीपीलगायतका नेताहरू नेपालको स्वतन्त्र अस्तित्वका लागि सुरक्षाकवच बनिदिए। त्यस्तो उचाइ थियो हाम्रा नेताको।

जब कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीको हैसियतमा दिल्ली पुगे, पारिपट्टि उनका समकालीन मित्रहरू बितिसकेका थिए। जुनियर नेताहरू सरकारमा आइसकेका थिए। जसले भट्टराईको पाउ छुन्थे। त्यो स्तरको हाम्रो सम्पर्क थियो, जसले नेपाली समाजलाई एकखालको संरक्षण प्रदान गरेको नै हो। त्यस्तो संरक्षण अहिले हामीलाई छैन। हाम्रा मुख्य नेताहरूको त्यो तहको पहुँच नै छैन। र, यदि हिन्दूत्व भड्काव फैलने हो भने त्यसको विरुद्ध अडान लिनसक्ने क्षमता हाम्रो सरकारसँग छैन।

पहिला नेपालमा हस्तक्षेप राजनीतिक रूपमा हुन्थ्यो। सात सालपछिको मन्त्रिमन्डलमा एकजना भारतीय प्रतिनिधि नै बस्थे जुन पछि हटाइयो। तर नेहरूलगायत भारतीय शीर्षस्थले नेपालमाथि औधी चासो राख्दथे। यो सुखद त होइन, तर राजनीतिक मान्छे सम्पर्कमा बस्दा अलिक पारदर्शिता त हुन्छ। पछि गएर राजनीतिज्ञबाट नेपाल सम्बन्ध नयाँदिल्लीको बाबुतन्त्रको हातमा पुग्यो। त्यसपछि र आजसम्म त राजनीतिज्ञ होइन, कर्मचारी र कूटनीतिज्ञ होइन, भारतीय गुप्तचरको फन्दामा पर्न गएको छ हाम्रो मुलुक। यसको मूल कारण हुन् माओवादी नेतागण र सहायक अन्य शीर्षस्थहरू।

सन् २००२ मा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अटलबिहारी बाजपेयीको प्रधानमन्त्रित्वकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रलाई ‘हामीलाई भारतमा आउनजान र बस्न सहज पारिदेऊ’ भनी लेखेको पत्रले भारतलाई हस्तक्षेप गर्न झनै सजिलो भयो। माओवादी द्वन्द्वको बारे पुस्तक (नेपाल इन् ट्रान्जिसन : फ्रम पिपल्स वार टु फ्रजाइल पिस, पृष्ठ ३१३–३३१) मा प्राध्यापक एसडी मुनीले यसबारे विस्तारमा लेखेका छन्। माओवादी नेताद्वयले मिश्रलाई पठाएको पत्रमा उताबाट आएको जवाफ थियो, ‘तिमीहरूले यस्तै पत्र आईबी र ‘र’लाई लेख र कुरा अगाडि बढाऊ।’ मुनीको पुस्तकमा लेखिएअनुसार, मिश्रको सुझाव पछ्याउँदै माओवादी नेताद्वयले ती दुई संस्थालाई सम्बोधन गरेर पत्र पठाए। त्यसपछि माओवादीलाई भारत आवतजावत गर्न र बस्न सहज भयो।

यसरी राजनीतिक हस्तक्षेपलाई ठाडै जासुसी हस्तक्षेपको तहसम्म पुर्‍याउने काम भयो। यो त द्वन्द्वकालको कुरा भयो। जब माओवादी शान्तिप्रक्रियामा आए, एकापट्टि संयुक्त राष्ट्रसंघको अनमिन संस्थाले राम्रो काम गरेन। माओवादीलाई बढावा दियो र अरू पार्टीलाई कमजोर बनाउन सघायो। संविधान लेखनसम्म आइपुग्दा त्यसकारण धेरै कुरा बिग्रियो। त्यो भन्दा पनि खतरनाक माओवादीमाथि नियन्त्रण र स्याहारसुसार गरेका भारतीय जासुसी संयन्त्र सहजै रूपमा नेपालको राजकाज र राजनीतिभित्र छिर्न पाए। यसरी ‘आईबी’ पनि नेपाल छिर्‍यो। ‘र’ उनीहरूको बाहिर काम गर्ने जासुसी संगठन हो भने ‘आईबी’ आन्तरिक जासुसी संस्था हो। यहाँ ती दुई संस्थाबीच प्रतिस्पर्धा हुन्छ/हुँदैन थाहा छैन तर ती दुवैको यहाँ रजगज सुरु भयो। यसको शृङ्खला लामो छ।

भारतीय दबाबमा खिलराज रेग्मी प्रकरण रचियो, लोकमानसिंह कार्कीको नियुक्ति प्रकरण र अति क्रुर नाकाबन्दीमा मात्र होइन, संविधान लेखन प्रक्रियामा समेत हस्तक्षेप गरे, जसरी मोदी सरकारको विशेष दूत बनी आएका परराष्ट्र सचिव एस जयशंकरले संविधान लेखनमा हस्तक्षेप गर्न खोजे। प्रम मोदीले नेपाललाई कतिसम्म हेपे भने उनले जासुसी संस्था ‘र’ का प्रमुख सामन्त गोयललाई आफ्नो दूत नै तोकेर पठाए। नेपाललाई नयाँदिल्लीले हेप्नसम्म हेपेको यस्ता कुरा हाम्रो सङ्कथनमै आउँदैन। किनभने हाम्रोमा यति धेरै बिग्रिरहेका, ढलिरहेका छन् कि सबै कुरा अवलोकन गरेर विश्लेषण गरी प्रतिक्रिया दिन पनि सम्भव भइरहेको छैन हामीलाई। जताबाट हेरे पनि नेपालसामु आज यति ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर’ छ, यसमा हामी सतर्क हुनैपर्छ।

हिन्दू र हिन्दूत्व
यतिन्जेल हामी भारतीय राजनीति, बाबुतन्त्र र जासुसी संयन्त्रको हस्तक्षेपका कुरा गरिरहेका थियौँ। हुँदाहुँदा अब त आस्थाको आधारमा गरिएको राजनीति मार्फत हस्तक्षेप बढाउन खोजिँदैछ, जसरी भारतमा जनमानसको आस्थाको आधारमा राजनीति गरिँदैछ, त्यो हो हिन्दूत्वको राजनीति। 

हामीले पाकिस्तानको सन्दर्भमा धर्म राजनीतिलाई गलत भन्दै आयौँ। पाकिस्तानमा जिया–उल हकले जे कुरा गरे त्यो गलत थियो, राज्यलाई धर्मबाट पृथक हुनुपर्छ भन्यौँ। बंगलादेशमा जमात–ए–इस्लामीको बिगबिगी विरुद्ध धारणा बनायौँ, श्रीलंका र थाइल्यान्डमा बौद्धमार्गी भिक्षुहरूको संकीर्णताबारे बोल्यौँ। तर, भारतमा आरएसएस र भाजपाले जसरी राजनीतिमा धर्मको प्रयोग गरिकन हिन्दूत्व विचार फैलाइरहेका छन्, धर्मलाई राजनीतिक अस्त्र बनाइरहेका छन्, जसले भारतीय समाज तहसनहस पारिरहेका छन्, त्यसका बारेमा हामी नेपालमा प्रस्ट हुन सकिरहेका छैनौँ। 

खुला सिमाना भएको छिमेकमा यत्रो बबन्डर भइरहेको छ। तर हामी यसरी बसिरहेका छौँ मानौँ केही भएकै छैन। खोई हाम्रा समाजशास्त्री? कहाँ छन् इतिहासकार? खोई हाम्रा राजनीतिशास्त्री? खोई हामीले बुझ्दै आएका नागरिक समाजका अगुवाहरू? यत्रो ठूलो हात्ती कोठाभित्र छ तर हामी कुनाको छुचुन्द्रो खोज्दै हिँडिरहेका छौँ। र, त्यही छुचुन्द्रो वरिपरि विश्लेषण गर्दै हिँडिरहेका छौं। यस्तो छ हाम्रो समाजशास्त्र।

पछिल्लो समय जसरी भारतको भाजपा सरकारको सहयोगमा नेपालमा आरएसएस पसेको छ, त्यो खतरनाक छ। त्यसले भारतीय हस्तक्षेपको सघनता झन् बढाइदिएको छ। यस्तो हस्तक्षेपकारी राजनीतिबारे हामी सतर्क हुनैपर्छ, प्रतिरक्षा गर्नैपर्छ। जनमानसलाई सुसूचित गराउनु पर्छ। यसका निम्ति ‘राष्ट्रवादी’ हुनैपर्दैन। नेपाली समाजलाई शान्तिपूर्ण राख्न, सहिष्णु राख्न हामीले खुला सिमानाबाट छिर्दै गरेको हिन्दूत्व राजनीतिको खिलाफमा जुट्नैपर्छ किनकि संकीर्ण हिन्दूत्वले नेपालको धर्म–संस्कृतिको प्रतिनिधित्व गर्दैन। यसको निम्ति हामीले पहिला त कुरो बुझ्नै पर्‍यो। हिन्दूत्व राजनीतिको नेपालमाथिको बढ्दो प्रभाव र असर हेर्दा पत्रकारलाई यसबारेमा नबुझीकन धर छैन। समाजशास्त्री, राजनीतिशास्त्री, नेतागण सबै मौन बसिरहँदा पत्रकारले नै यो बुझाइको बिँडो थाम्नु पर्छ।

केही तथ्यमा हामी प्रस्ट हुनुपर्दछ : हामीले हिन्दू, हिन्दूपन र हिन्दूत्वबीचको फरक छुट्टयाउन सक्नुपर्‍यो। हिन्दूपन एक आस्था हो भने हिन्दूत्व कसैको आस्थालाई लिएर गरिने राजनीतिक प्रयोग हो, विशेषगरी निर्वाचनका बेला भोट पाउन। त्यो पनि कस्तो भने हिन्दू धर्मलाई मोनोथेइस्टिक (एकेश्वर) रिलिजन जस्तो बनाउने प्रयास। जस्तै यहुदीहरूको, त्रिश्चियनहरूको र इस्लामको जस्तो। हिन्दूत्व राजनीतिले हिन्दू धर्मजस्तो आस्थालाई पनि एकलकाँटे रूपमा श्रीराम अन्तर्गत व्याख्या गर्दैछ, त्यो पनि आक्रोशित हनुमानको ध्वजा सहित। तपाईंहरूले केही समययता जताततै फैलाइएको क्रुद्ध हनुमानको ध्वजा देखिरहनुभएको होला, विशेषगरी तराई मधेसमा– यो हामीले नचिनेको हनुमान हो। हामीले चिन्दै आएको हनुमान सौम्य स्वभावका बलवान् व्यक्तित्व हुन् भने क्रुद्ध हनुमान भय जगाउने खालका छन्। यो खतराको संकेत हो। किनभने यसले एउटा राजनीतिक एजेन्डाको पैरवी गरिरहेको छ। 

यदि नेपालमा सनातन धर्म, हिन्दू वा भक्ति र आस्थाको कुरा गर्ने हो भने यहाँ मस्टो पूजनदेखि कृष्ण प्रणामीसम्मका आस्था छन्। शैवदेखि वैष्णवसम्मका अनुयायी छन् त्यसभित्र पनि अनेकन् थरीका। हरेक पन्थको कयौँ हाँगाबिँगा छन्। अनि तन्त्र र तन्त्र ज्ञानलाई कसरी बिर्सने? र, ठाउँठाउँमा देखिने बौद्ध र हिन्दू परम्परा एकै ठाउँमा आयो। अनि प्रकृति पूजन। नेपालको सन्दर्भमा आस्थाकै कुरा गर्दा पनि नेपाली समाजको चरित्र यस्तो हो है भनेर बुझाउनुपर्ने हुन्छ– ८० प्रतिशत हिन्दू, अनि बौद्ध, मुस्लिम, इसाई आदि। हिन्दू र हिन्दूत्वमा जमीन–आसमानको फरक छ भनेर बुझाउनुपरेको छ, जुन भारतमा हुनसकेको छैन। तर, हामी सफल हुनैपर्छ, नेपालको सामाजिक विशेषता जोगाउन। 

एउटा समाजशास्त्रीले घोत्लिएर यसमाथि लेखिदिएको भए हामीलाई सजिलो हुन्थ्यो तर त्यसो नगरिदिएको हुनाले हाम्रोमा मोनोथेइस्टिक हिन्दूत्व छैन भनेर हामी पत्रकारले नै पहिले आफूलाई नै अनि पाठक/स्रोतालाई बुझाउनुपर्ने अवस्था छ। पत्रकारले गर्नै नहुने भनेको ‘टीआरपी’ र ‘डाउनलोड’लाई हेरेर उत्तेजनामाथि उत्तेजना फैलाउने काम। अफसोच, केही जान्नेमान्ने पत्रकारले टेलिभिजनको माध्यमबाट यस्तो गर्न थालिसकेका छन्।

नेपालभित्र आरएसएसले भित्रभित्र प्रभाव विस्तार गरिरहेको छ, समुदायमा घृणा फैलाउने उद्यम गरिरहेको छ। तर पुष्पकमल दाहाल र उनीसँग सत्ता साझेदारी गरिरहेको दल कांग्रेसले भारतबाट आएको हिन्दूत्व नामको यो छाल रोक्न न त प्रयत्न गरेको देखिन्छ न त्यसो गर्ने सामथ्र्य नै महसुस हुन्छ। उनीहरूको हिन्दूत्व मोह भारत भ्रमणताका गेरुवा वस्त्र लगाएर पूजापाठ गर्दा नै देखियो। प्रोटोकलले दिँदैन भन्दै गेरुवा वस्त्र धारण गरेर पूजापाठ गर्ने प्रधानमन्त्रीसहितको ४–५ जनाको टोलीलाई हाम्रो धर्मनिरपेक्ष राज्यको प्रोटोकलले त्यसो गर्ने छुट दियो त? परैबाट नमस्कार गर्न सकिँदैनथ्यो त? यी सबै कुरामा हाम्रो प्रश्न पुगिरहेको छैन।

अतः हामी दक्षिणमा समाज ध्वस्त बनाउन लागिपरेको हिन्दूत्व राजनीति उसैको सत्तारुढले नेपाल छिराउन खोजिरहेको खतरनाक समयमा छौं। भारतकै कुरा त गरौँला पनि, तर हाम्रै आँखाअगाडि भइरहेको कुरा चाहिँ देखिरहेका छैनौँ। अन्य विधा वा क्षेत्रबाट केही होला जस्तो देखिँदैन, त्यसैले पत्रकार नै अग्रसर हुनुपर्ने देखियो। यसलाई ‘मिसन जर्नालिज्म’ भन्नुस् या जे नै। 

भारतको पत्रकारिता र त्यहाँको नागरिक समाजबाट आश नगरौँ। उनीहरू आफैँ त्रसित छन्। बोल्न चाहँदैनन्। पैरवी गर्ने संस्थालाई चौतर्फी घेराबन्दीमा पारेर मुख बन्द गरिएको छ। त्यसैले हामीले चिनेका भारतका उदार विचार र स्वतन्त्र समाजमा विश्वास गर्नेहरूका लेख आउँदा दिनमा झनझन् कम पढ्न पाउने अवस्था देखिन्छ। नेपालको भविष्यलाई स्थायी र समृद्ध बनाउन विदेश र विभाजन–राजनीतिको खतराबाट बचाउनु पर्छ। यो हामी आफैँले गर्ने हो।

(दक्षिण एसियाली समाज र राजनीतिका अध्येता हिमाल साउथ एसियन पत्रिकाका संस्थापक सम्पादक कनकमणि दीक्षित पत्रकार र लेखक हुन्। यो आलेख ‘फ्री प्रेस नेपाल’ले आयोजना गरेको ‘हिन्दूत्व राजनीतिको फैलावट र इन्डियन–नेपाली मिडिया’ विषयक संवाद कार्यक्रममा दीक्षितले राखेको धारणाको सम्पादित अंश हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .