ad ad

विचार


९० वर्षअघिको जर्मनीको इतिहास बाँच्दैछ आजको भारत

९० वर्षअघिको जर्मनीको इतिहास बाँच्दैछ आजको भारत

जातीय दंगाका क्रममा हरियाणाको नुहमा क्षतिग्रस्त भएका पसलहरु


समिमा दलवाइ
साउन २०, २०८० शनिबार २२:११,

म जुन भारतीय राज्यमा बस्छु, त्यसको एक हिस्सामा आगो सल्केको छ। हरियाणाको जुन विश्वविद्यालयमा म पढाउँछु, त्यहाँबाट मात्र ७७ किमि टाढा भीडले मंगलबार बिहान एउटा मस्जिदमा आगो लगायो। छिमेकी जिल्लाका एक युवा इमामको गोली हानी हत्या पनि गरियो।

भारतको सामाजिक बनोटमा यो नयाँ रगतको धब्बा हो। जुन, यसअघि नै जर्जर बनिसकेको छ। इतिहासलाई हेरेर भन्ने हो भने यी धब्बाहरुले आउँदा दशकमा भारत र भारतीयहरुलाई निकै सताउनेछन्।

नब्बे वर्षअघि १० मे १९३३ मा नाजी विद्यार्थी संघका ५ हजार विद्यार्थीहरु र तिनका प्राध्यापकहरु हातमा राँको बोकेर बर्लिनको बेबेलप्लाजमा भेला भए। उनीहरु करिब २० हजार पुस्तकमा आगो झोसे, जुन मुख्यगरी यहुदी लेखक र कार्ल मार्क्स तथा रोजा लक्जेम्बर्गजस्ता कम्युनिस्ट विचारकहरुले लेखेका थिए। यी दुवै लेखक पनि यहुदी थिए। 

यो घटनालाई ४० हजार दर्शकले हेरे।

विद्यार्थीहरु मन्त्र पढे, ‘पतन अनि नैतिक पतनका विरुद्ध! परिवार अनि राष्ट्रमा अनुशासन र शालीनताका लागि! म फलानाको किताब अग्निज्वालमा समर्पित गर्छु!’

लेखक एरिक कास्टनर त्यही भीडमा उभिएर रमित हेरिरहेका थिए। उनको पुस्तक पनि ज्वालामा हालिँदैथ्यो। यो घटनालाई पछि उनले ‘अन्तिम संस्कारको मौसम’ भनेर चित्रित गरे। 

त्यो दिन पानी परेको थियो। जसका कारण आगो निभ्यो। त्यसैले किताब जलाइराख्न विद्यार्थीहरुले पेट्रोल खन्याउनुपरेको थियो।

गत अप्रिलमा मलाई यो घटनाको याद आयो, जब बिहारको सरिफ नगरमा ४५ सय पुस्तक भएको मदरसामा भीडले आगो लगायो। त्यहाँ प्राचीन तथा हस्तलिखित पाण्डुलिपीहरु समेत थिए। त्यो पुस्तकालय ११३ वर्ष पुरानो थियो। जसलाई अमूल्य निधि मानेर पुस्तौँदेखि संरक्षण गरेर राखिएको थियो। आक्रमणकारीहरु लाठी, ढुंगा र पेट्रोल बम बोकेर आएका थिए।

पुस्तक जलाएको घटनापछिका वर्षहरुमा कास्टनर र अरु सयौँ लेखकहरुले जर्मनी छाडे। उनीहरुले आफ्नो मातृभूमि जर्मनीलाई नाजीहरुले हिंसात्मक रुपले नयाँ स्वरुपमा लगेको हेरे। आज भारतका दक्षिणपन्थी राजनीतिकर्मीहरु इतिहासकार र पत्रकारहरुलाई खुल्लमखुला भारत छाड्न भनिरहेका छन्।

१० मे २०२३ मा नौ जना कलाकारहरुले ९० वर्षअघि पुस्तक जलाइएका रुडोल्फ कास्टनर र कुर्त तुहोल्स्कीजस्ता लेखकहरुको कृति पढे। बेबेलप्लाजको ठिक तल अहिले त्यो पुस्तकालयको स्मारक छ। जसमा करिब २० हजार पुस्तक अट्ने खाली आलमारी छ। त्यहाँ काँसको एउटा पट्टा पनि राखिएको छ, जसमा लेखिएको छ :

जहाँ तिनले किताब जलाउँछन्,
अन्ततः तिनले मान्छे पनि जलाउनेछन्

हाइनरिक हाइन, १८२०

भारतमा भने यो क्रम उल्टो भएको छ। हामीले मानिसहरुलाई जलायौँ र अब किताब जलाउन थालेका छौँ। १९९२ मा बाबरी मस्जिद भत्काएपछि मुम्बईमा भएको दंगा। २००२ को गुजरात नरसंहार। गुजरातमा आफ्नो अपांगता भएका छोरालाई रुखमा बाँधेर कसरी कुटियो, एक आमाले बयानमा बताएकी छन्। उनले रुँदै पानी मागे। तिनले उनलाई पेट्रोल खुवाइदिए। त्यसपछि सलाई कोरेर उनलाई जलाइयो। उनी बमझैँ विस्फोट भए। यो दृश्य सम्झनामा बोकेर बाँच्न ती आमा विवश छिन्। के ती हत्याराहरुलाई यो दृश्य याद होला? के त्यो दृश्यले तिनलाई पोल्छ?

नरसंहारका बेला यहुदीहरुलाई लिएर जाँदै गरेका ट्रेनहरुलाई कयौँ स्टेसनमा रोकियो। जहाँ पशुहरुलाई थुनेर लैजाने पिँजडामा कैद महिला, पुरुष र बालबच्चा पानी माग्दै चिच्याउँथे। घरबाट परिवारैलाई लगिन्थ्यो। बुढापाकालाई सडकमा गोली ठोकिन्थ्यो। जर्मनहरुले यो सबै देखे। उनीहरु के सोच्थे? 

त्यो सामूहिक स्मृतिले आज जर्मनीलाई एउटा यस्तो दुर्लभ मुलुक बनाइदिएको छ, जसले वर्तमानमा पनि आफ्नो भयानक अतीतको सामना गर्नुपर्छ। यो देशको दर्दनाक इतिहासलाई हरेक स्थानमा स्मरण गरिन्छ। पक्राउ गरिएकाहरुलाई यातना दिइएको प्रहरी चौकी, रोमानी बालबालिकामाथि क्रुर प्रयोग गरिएको अस्पताल, परिवारैलाई ग्यास च्याम्बरमा पठाइएका यहुदीका घरहरु।

भारतमा यस्ता कुराहरुको कुनै हिसाबकिताब छैन। यो उपमहाद्वीपको विभाजनका बेला भएका अत्याचारको समेत हिसाब राखिएन। जुन क्रममा दस लाखभन्दा बढी मानिसको हत्या भयो। डेढ करोडभन्दा बढी बसाइँ सरे।

हामीसँग त्यस्ता पट्टा छैनन्, रंगाइएका भित्ता छैनन् र करिबकरिब कुनै स्मारक छैनन्। छन् त केवल स्मृति। मानिसको स्मृतिमा कोरिएको छाप छ, जुन एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको छ।

जर्मनीमा यसको सुरुवात यहुदीहरुको व्यापारमा आक्रमण गरेर भयो। त्यसपछि उनीहरुको पेसागत कामकाजमा प्रतिबन्ध लगाइयो। र, यो यहुदीहरुको सम्पत्ति र घर कब्जा गर्ने विन्दुसम्म पुग्यो। लगत्तै उनीहरुलाई झुपडपट्टीहरुमा लगेर राखियो अनि आम नरसंहार गरियो। यो सबै घटना गैरयहुदी जर्मनहरुले हेर्दाहेर्दै भयो। के तिनले यसलाई रोक्न सक्थे?

भारतमा मुस्लिम शासकहरुले हिन्दूहरुको प्राचीन गौरवलाई कसरी ध्वस्त पारे भन्ने प्रचारबाजी गरेर यहाँको सामूहिक सोचमा विष घोल्ने काम तीव्र गतिमा भइरहेको छ। समकालीन भारतको उदयलाई मुस्लिमहरुले रोक्न सक्छन् भन्ने प्रचार गरिन्छ। मुलुकको ठूलो जनसंख्यादेखि लिएर कोरोना भाइरसको प्रसार अनि महिलाविरोधी अभ्यासदेखि लिएर मुद्रास्फितिसम्म– मुस्लिमहरुलाई हरेक कुराका लागि दोष दिइन्छ। 

मुस्लिमहरुको छात्रवृत्ति खारेजदेखि लिएर शरण खोज्नेहरुलाई नागरिकता दिनेसम्बन्धी कानुनमा समेत विभेद गरेर सत्तारुढ दलले विभाजनको आगो सल्काउन कुनै कसर छाडेको छैन।

यो साता हरियाणामा भएकोजस्तो बेलाबखत हुने हिंसा र लिन्चिङले मुस्लिमहरुलाई झुपडपट्टीमा धकेल्न सहयोग गर्छ। घरेलु समानता कायम गर्न खोजिरहेका मुस्लिम महिला, समुदायको नजर छलेर उदार जीवन अपनाउन थालेको मुस्लिम युवा र शिक्षा तथा आर्थिक गतिशीलता प्राप्त गर्न खोजिरहका बालबालिका सबै झुपडपट्टीमा धकेलिन्छन्। 

त्यसपछि उनीहरु अरुद्वारा परिभाषित मुस्लिम जीवन बाँच्न बाध्य पारिन्छन्। मुस्लिम कस्तो देखिनुपर्छ, कसरी बोल्नुपर्छ, कस्तो कपडा लगाउनुपर्छ भनेर हिन्दू दक्षिणपन्थीहरु र स्वघोषित मुस्लिम अगुवाहरुले निर्धारण गर्छन्। दुवैतर्फका कट्टरपन्थीहरु यसबारे बहस गर्छन्, तरबार जुधाउँछन्।

युवा, बालबालिका, महिला, पुरुष र पेसेवर– आम मुस्लिमको आवाज दबिन्छ। फलस्वरुप घृणाका व्यापारीहरुका लागि एउटा स्थिर लक्ष्य प्राप्त हुन्छ।

नरसंहारको कयौँ दशकपछि पनि जर्मनी आफ्नो इतिहासको बोझ बोकिरहेको छ। हामी भारतीयहरु जर्मनीको त्यो इतिहास आज र अहिले बाँचिरहेका छौँ। के यसलाई बदल्ने बेला बितिसकेको हो? आज हामीले जे ग¥यौँ वा जे गरेनौँ, त्यसको बोझ बोक्न हाम्रो आउँदो पिँढी अभिशप्त छ? 

(अल जजिराबाट। समिमा दलवाइ कानुन विषयकी प्राध्यापक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .