आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत जारी सेमिफाइनल खेलमा नेपालसामु जितका लागि थाइल्यान्डले १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको हो।
दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए।
४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पूजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भइन्।
नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो।
नन्नपत ५९ र चनिदा सुचिरुङ ११ रनमा नटआउट रहे। नन्नपतले ६३ बलमा चार चौका प्रहार गरिन्।
नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिईन्। कविता जोसीले ३ ओभरमा १२ र इन्दु बर्माले २ ओभरमा १५ रन खर्चिए।
रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पूजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन्।
सीता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। यो खेलको विजेताले अर्को वर्ष हुने आईसीसी महिला ग्लोबल टी-२० छनोटमा स्थान बनाउनेछ।
Shares
प्रतिक्रिया