नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्समा सहभागिताका लागि सोमबार चीन जाने भएका छन्।
आफूविरुद्धको बलात्कार मुद्दाको पेसी आजै (आइतबार) परेका कारण सन्दीप क्रिकेट टोलीसँगै चीन जान पाएनन्। टोली आज दिउँसो चीनको हाङजाओ प्रस्थान गरिसकेको छ।
तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी भोलि साेमबार चीन जाने भएका हुन्।
सन्दीप चीन जान सोमबारका लागि हवाई टिकट काटिसकिएको क्यान स्रोतले नेपालखबरलाई जानकारी दियो।
एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६:४५ बजे हुनेछ।
समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ।
क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्।
एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ।
नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)
Shares
प्रतिक्रिया