हाङझाउ एसियाडको जुडोमा नेपालको यात्रा सकिएको छ। जुडोमा आज नेपालका दुई खेलाडीको पराजयसँगै नेपालको चुनौती सकिएको हो।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १ सय केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए। प्रिक्वाटरफाइनलमा उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन्।
प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन्। जुडोमा नेपालबाट समान ४ महिला र पुरुष गरि ८ खेलाडीले भाग लिएका थिए।
यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो।
सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते। उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।
Shares
प्रतिक्रिया