ad ad

खेल


मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ९:४९, काठमाडौँ

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमानी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा सानदार सुरुआत गरेको छ। 

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको हो। 

नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो। 

मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट आफ्नो नाममा गरे। 

मंगोलियामा जमयानसुरेन दावासुरेनले बनाएको १० रन रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एक ब्याटरले ३ रन थपे। अन्य तीन ब्याटरले १ रन जोडे। बाँकी पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। एक खेलाडी भने २ रनमा नटआउट रहे। 

त्यसअघि झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको कीर्तिमानी योगफल तयार पारेको थियो। 

नेपालले टी आईमा इतिहासकै उच्च योगफल तयार पारेको हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार बनाएका थिए। 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो। कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो। 

मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरे। ३४ बलमा शतक पूरा गरेका मल्लले विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि टी-२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। 

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे।

आक्रामक अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि भारतीय ब्याटर युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरेका थिए। दीपेन्द्र ५२ रनमा नटआउट रहे।

रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए। ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए। 

एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .