नेपाली राष्ट्रिय भलिबल टोलीले काभा भलिबल च्यालेन्ज कपमा नेपालले पहिलो हार व्यहोरेको छ। श्रीलंकाको कोलोम्बोमा मंगलबार भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–० को सोझो सेटमा पराजित भयो।
श्रीलंकाले नेपाललाई २६–२४,२५–१८ र २५–१६ ले पराजित भयो। प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालले चुनौती दिएपनि त्यसपछिका सेटमा उत्कृष्ट प्रर्दशन गर्न सकेन।
काभा च्यालेन्ज कपमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको दिन नेपालले भने पहिलो हार व्यहोरेको हो। पहिलो खेलमा नेपालले सोमबार बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै विजय सुरुवात गरेको थियो।
उता श्रीलंकाले भने पहिलो खेलमा साउदी अरेबियालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले राउण्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।
शुक्रबार साउदी अरेबियासँग तथा अन्तिम खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
६ टोली सहभागी च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि स्पर्धा गर्नेछन्।
फाइनल र तेस्रो स्थानका खेल २८ गते हुनेछ।
Shares
प्रतिक्रिया